जहाँ दलितलाई दूध खान दिइँदैन

रखा । विभेद गर्नु नियमकानुनले वर्जित भने पनि तल्लो जात भनेर भेदभाव गर्ने प्रवृत्ति समाजमा अझै पूर्ण रूपमा हट्न सकेको छैन । दलित भएकै कारण छोइछिटो गर्ने, अपहेलना गर्नेलाई कानुनी कारबाहीको व्यवस्था छ।

छुवाछूतको प्रचलन विस्तारै न्यूनीकरण हुँदै गए पनि केही अन्धविश्वास अझै हट्न सकेको छैन।

बाजेको पालादेखि आफूहरूले बाहुन–क्षत्रीका घरमा दूध खान हुँदैन भनेर सुन्दै आएको आरूघाट गाउँपालिका ४ थुमीका नौले कामी बताउँछन्। ‘वीर लाग्छ अनि गाई–भैंसी रूख चढ्छन् भन्दारहेछन्,’ उनले भने, ‘कसैले दिइहाल्यो भने हामी आफैंलाई असजिलो लाग्छ, अनि हामी खाँदैनौं।’ दलितसँग किनेर खाने पैसा हुँदैन भनेर पुर्खाहरूले यस्तो चलन चलाएको हुनसक्ने कामी अनुमान गर्छन्। ‘सानैदेखि यस्तो कुरा सुन्दै आएका हौं,’ उनले भने, ‘किनेर खान सक्दैनन्, सधंै माग्न आउँछन् भनेर त्यसबेलामा यस्तो भनेका होलान्।’

पछिल्ला वर्षहरूमा यस्ता अन्धविश्वासलाई मान्नेहरू घटे पनि समाजबाट पूरै हट्न नसकेको स्थानीय शान्ता विक बताउँछिन्। ‘अहिले त केहीले दूध दिन्छन्, केहीले दिँदैनन्,’ उनी भन्छिन्, ‘बूढाबूढी भएका घरमा यस्तो चलन अझै छ।’ बाहुन–क्षत्री समुदायमा मात्र यस्तो कुरीति केही मात्रामा रहेको उनले बताइन्। ‘सबै बाहुन–क्षत्री पनि होइनन्, केहीले मात्र नदिने हो,’ उनले भनिन्। पुस्तौंअघि दलितलाई दूध दिँदा देवता रिसाएर गोठका गाईबस्तु हराएको र खोज्न जाँदा रूखमा भेटिएको भन्ने किंवदन्ती अहिलेका पुस्तासम्मले सुन्दै आएका छन्। ‘केही वर्षअघिसम्म त मेलापात जाँदा गैरदलितलाई मोही दिन्थे, हामी दलितलाई त्यही मोही पनि दिँदैनथे,’ विकले भनिन्, ‘अहिले यस्तो चलन हटदै गएको छ।’ दलित समुदाय आफैंले गाई–भैंसी पाल्न थालेका छन्। ‘आफ्नै घरमा पालेका गाई–भैंसीको दूध त खान्छौं,’ उनले भनिन्।

विशेषगरी हालका युवापुस्ताले यस्तो कुसंस्कारलाई नमान्ने गरेको स्थानीय खीरमाया भट्टले बताइन्। ‘म आफैं त यस्तो कुरामा विश्वास गर्दिन, बूढापाकाहरूले चाहिँ दिनु हुँदैन भन्छन्,’ उनले भनिन्। दलित समुदायलाई अवहेलना गर्ने प्रवृत्ति न्यूनीकरणका लागि निश्चित कार्ययोजना बनाएर चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले बताइन्। ‘दूध दिन हुँदैन रूख चढ्छ सबै रेका कुरा हुन्,’ उनले भनिन्, ‘यस्ता कुरालाई पूर्ण रूपमा हटाउनुपर्छ।’ छुवाछूत र विभेद अन्त्य गर्न गाउँपालिकाले दलित समुदायलाई नै जागरुक बनाउने खालको कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले बताइन्। कान्तिपुर दैनिकमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *