काङ्ग्रेस नेता रामचन्द्र पौडेल द्वारा आत्महत्या गर्ने …पूरा हेर्नुहोस किन पुगे यस्तो अबस्थामा ?

काठमाण्डु, ४ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई आत्महत्या गर्न मन लाग्ने बताएका छन् । मंगलबार कास्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले यस्तो गुनासो पोखेका हुन् ।

पैडेललाई भेटेपछि कार्यकर्ताले दुखेको पोखे, ‘पार्टी नेताकै कारण चुनाव हार्यौं र पार्टीको बेथिकितकै कारण हाम्रो बिचल्ली भएको छ ।’पार्टीभित्रैको गुट उपगुट र जनतासम्म लैजाने गतिलो एजेन्डा नहुँदा कांग्रेसले हार व्यहोरेको उनीहरुको गुनासो थियो ।

पार्टीले तीनै तहको चुनावमा हार व्यहोर्दा पनि पार्टी कुनै समीक्षा र नयाँ कार्यक्रम नल्याएकोप्रति कार्यकर्ताले आक्रोस पोखे । ‘जिल्ला आउँदा सिंगो पार्टीको नेता होइन, ब्यक्तिब्यक्तिको नेता आउँछन्,’ प्रदेश सभाका उम्मेदवारसमेत रहेका भोजबहादु गुरुङले भने, ‘हाम्रा नेता कुनै पार्टीका नेता भए सिंगो पार्टी र जनताको नेता हुन सकेनन् ।’

स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा वाम गठबन्धनको सरकार भएका बेला कांग्रेस कार्यकर्ता खुलेर बोल्न र कार्यक्रममा प्रस्तुत हुन अप्ठ्यारो परेको अर्का कार्यकर्ता खलिल मियाँले बताए । ‘पार्टीको रचनात्मक काम छैन । अरुले बोलाएका कार्यक्रममा गयो सम्मानजनक भूमिका नै पाउँदैनौं,’ मियाँले भने, ‘कार्यकर्ताको बिचल्ली भइरहेको छ ।’

कांग्रेस नेता पौडेलसँग छिटोभन्दा छिटो पार्टीका गुट उपगुट मिलाएर भावी कार्ययोजना बनाएर कार्यकर्तालाई जोगाउन अनुरोध गरे । ‘अरु पार्टीलाई मात्र गाली गर्ने भयौं, कांग्रेस बनाउने र जोगाउने नयाँ काममा लागेनौं,’ पुराना नेता खेमराज पौडेलले भने, ‘कांग्रेसबारे जनतालाई के भनेर बुझाउने ? अब ढिला हुन लागिसक्यो ।’

कार्यकर्ताको गुनासो सुनेपछि वरिष्ठ नेता पौडेलले जनताले सरापेको देख्दा आत्महत्या गर्न मन लाग्छ भनेर भनेको भन्दै निराशाजनक अभिव्यक्तिबाट सम्बोधन थाले ।

‘मलाई त कहिलेकाहीँ जनताले सरापेको देख्दा आत्महत्या गर्न मन लाग्छ भनेर भनेको थिएँ,’ नेता पौडेलले भावुक हुँदै भने, ‘पछि यस्तो त शब्द त नभन्नु पर्ने भनेर पछि प्रचण्डहरुले मलाई भनेका थिए । त्यो मलाई स्वभाविक भित्रैदेखि आएको अभिव्यक्ति हो ।’

आदर्श र मूल्यमान्यताको राजनीति पाखा लागेको देख्दा आफूलाई पनि चिन्ता लागेको पौडेलले बताए ।

पार्टी कहाँबाट बिग्रियो भन्ने खोज्दै जाने हो भने वीपीसम्मै पुग्ने पौडेलको भनाइ थियो । ‘पार्टीमा फुट र गुट खोज्दै जाने हो भने वीपी र डिल्लीरमण रेग्मीसम्म पनि पुगिन्छ,’ नेता पौडेलले भने ।

पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो बोलचालै नभएको भने हल्लामात्रै भएको उनले बताए । ‘केही समय अगाडि शेरबहादुरजी र म एउटै मञ्चमा बसेका थियौं । पार्टी एक बनाएर लैनुस्, मूल्यांकनका आधारमा पार्टी चलाउँछु भन्नोस् मेरो पूर्ण समर्थन रहन्छ भनेको थिएँ,’ पौडेलले भने ।

न्याय, निस्पक्षता र पारदर्शी मूल्यांकन तीन कुराले पार्टी एकता हुने पौडेलले बताए ।

जनताको स्वार्थसँग आफूलाई नगाँसी कांग्रेसले चुनाव जित्न नसक्ने पौडेलको भनाइ थियो । ‘कांग्रेसले अब चुनाव जित्ने हो भने जनताको स्वार्थसँग आफूलाई नगासी हुँदैन,’ पौडेलले भने, ‘फेरि तैंले किन जितिनस् भन्नुहोला, म संविधान बनाउनेतिर आफूलाई बढी गाँसे त्यो बेला ।’

नेपाली कांग्रेस जन्मिँदा जुन सिद्धान्त लिएर जन्मिएको थियो, त्यही सिद्धान्तको संविधान ल्याएको पौडेलले बताए । ‘मैले नै दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीलाई पहिलो बनाएँ । देशभरि प्रशिक्षण अभियान चलाएर हारेको कांग्रेसलाई पहिलो बनाएको मैले नै हो,’ पौडेलले भने ।

संविधान जारी हुँदासम्म कांग्रेसले सफलता नै सफलता प्राप्त गरेको बताउँदै नेता पौडेलले भने, ‘त्यसपछि पार्टी बिग्रँदै गयो ।’

‘त्यतिखेर दोस्रो पटक सुशीलजी नलडेर म लडेको भए मैले जित्थें । किनभने विजय गच्छदार पनि मलाई भोट दिन तयार थिए । कमल थापाले म भोट दिन्छु तर, मलाई उपप्रधानमन्त्री दिनुहोला भनेका थिए’, पौडेलले अघि भने, ‘पछि सुशीलजी र शेरबहादुरजी मिलेर मलाई बाहिर गरे । त्यसको परिणाम कांग्रेस हार्यो र अहिले हामी यहाँसम्म आयौं ।

‘आज आफ्नै राजधानीमा आएर नभने कहिले भन्ने भनेर भनें । आजसम्म भनेको थिइनँ आज वाध्य भएँ’ पौडेलले प्रदेश ४ को राजधानी पोखरामा भने ।

देउवाप्रति संकेत गर्दै पौडेलले पार्टी र सरकारले राम्रो काम गरेको भए आज यस्तो अवस्थामा नपुग्ने बताए । ‘उनीहरु मिलेर हामी हार्यौं भनेर भाग्न पाइँदैन, उनी मिल्दा पनि हामीले जित्नुपर्थ्यो’, पौडेलले भने, ‘किन जितेनौं भने हाम्रो सिद्धान्तअनुसार आचारण भएन । जवाफ दिन नसक्ने काम गरेकै हौं । त्यसैले अब करेक्सन गर्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *