नेप्सेमा दोहोरो अंकको वृद्धि

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले बढेको छ । अघिल्ला दुई साता निरन्तर रूपमा ओरालो लागेको नेप्से परिसूचक आइतबार १६.४१ अंकले बढेको हो । दुई साताको अवधिमा नेप्से करिब १ सय ११ अंकले घटेको थियो ।

यो वृद्धिसहित नेप्से १ हजार ४ सय ७७.१४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.१२ प्रतिशतको वृद्धि हो । कारोबारमा आएकामध्ये व्यापार र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढेपछि नेप्सेको वृद्धिमा टेवा पुगेको हो । निरन्तर घटेको बजार एक्कासि धेरै अंकले बढ्ने विशेष कारण नभए पनि केही अल्पकालीन लगानीकर्ताले घटदो बजारमा लगानी बढाएपछि बजार दोहोरो अंकले बढेको विज्ञहरूको तर्क छ । सुरुमा घट्दो प्रवृत्तिमा रहेको बजारले मध्याह्नबाट सुधारको बाटो पछयाएको थियो । त्यो क्रम अन्तिम समयसम्म पनि जारी रहेपछि समग्र नेप्से साढे १६ अंकले उकालो लागेको हो ।

 

नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । आइतबार ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबार ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से बढेपछि कुल बजार पुँजीकरण भने बढेको छ । अघिल्लो दिनको तुलनामा पुँजीकरण १९ अर्ब रुपैयाँले बढेर १७ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *