वैदेशिक रोजगारपीडित परिवारलाई पेशागत तालिम

काठमाडौं । सरकारले वैदेशिक रोजगारी पीडित परिवारलाई एक वर्षको पेशागत तालिम दिने भएको छ । विदेशमा रोजगारीका क्रममा अंगभंग, बिरामी, अशक्त र रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारका ३ सयजनालाई पेशागत तालिम यसै आर्थिक वर्षमा सञ्चालन गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा तालिम सञ्चालन हुनेछ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार दक्ष बनाएर पठाउने उद्देश्यले पेशागत तालिम सञ्चालन गर्न बोर्डका सहसचिव धीरकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कामदारका परिवारलाई पेशागत तालिम दियो भने जीविकोपार्जन सजिलो हुन्छ । तालिमपछि स्वदेशमै पनि रोजगारी पाउने सम्भावना हुन्छ । यो पेशागत तालिम लिएर आफै तालिम केन्द्र सञ्चालन गर्न पनि सकिन्छ ।’ बोर्डले यस्तो तालिम पहिलोपटक सञ्चालन गर्न लागेको उनले बताए ।

निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ, गार्मेन्ट र कृषिसम्बन्धी एक वर्षको तालिम हुने बोर्डले जनाएको छ । तालिममा ८ कक्षा उत्तीर्ण गरेका पीडित परिवार पनि सहभागी हुन पाउनेछन् । यस्तै, इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटररवेटर र कफी मेकरलगायतका तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्ड १० विधामा तालिम सञ्चालन गर्ने जनाएको छ । प्रदेश संरचनाअनुसार जल्लास्तरबाट पनि तालिम सञ्चालन गर्ने जनाएको छ ।

बोर्डले मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा वार्षिक १० हजार जनाभन्दा बढीलाई तालिम दिँदै आएको जनाएको छ । स्वदेशमै दक्ष कामदार उत्पादन गरी विदेशी बजारमा कामदार पु¥याउनुका साथै स्वदेशमै पनि स्वरोजगार बन्न सक्ने बोर्डको अपेक्षा छ । विगत ६ वर्षमा ७० हजारभन्दा बढीलाई सीपमूलुक तालिम दिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

१ सय २० लाई आवासीयसहितको तालिम

बोर्डले वेदेशिक रोजगार पीडित परिवारका १ सय २० जनालाई सीटीईभीटीबाट आवासीय सुविधासहितको ३ वर्षको डिप्लोमा तालिम दिने भएको छ । विदेशमा आफन्त गुमाएका परिवारका सन्तानलाई सीटीईभीटीबाट कृषि, नर्सिङ र इन्जिन्यरिङ तालिम दिने भएको हो । कृषिका लागि एसइइ र नर्सिङ वा इन्जिन्यरिङ तालिम लिनका लागि १२ पास गरेको हुनुपर्नेछ । बोर्डले मुस्लिम, दलित, जनजाति र पिछाडिएका वर्गलाई विषेश प्राथमिकतामा राख्ने जनाएको छ । जसका लागि बोर्डले मंसिर दोस्रो साता आवेदन खुला गर्ने भएको छ । इच्छुक व्यक्तिले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आवेदन दिन सक्नेछन् । तालिम लिनका लागि सम्बन्धित गाउँपालिका तथा नगरपालिकाबाट वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको प्रमाणसहितको सिफारिशका साथ निवेदन जिल्ला शिक्षा कार्यालयमा दिनुपर्ने बोर्डले जनाएको छ ।

१४ सयलाई छात्रवृत्ति 

बोर्डले १४ सय वैदेशिक रोजगारपीडित परिवारका सन्तानलाई छात्रावृत्ति प्रदान गरेकोछ छ । विदेशमा बाबु आमा गुमाएका सन्तानलाई बोर्डले गत आर्थिक वर्ष २०७०÷७१ देखि छात्रावृत्ति उपलब्ध गराउँदै आएको हो । निमाविका विद्यार्थीलाई ८ हजार र माविका विद्यार्थीका लागि १२ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यस आर्थिक वर्षदेखि उच्चमाध्यामिक तहका विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिने बोर्डले जनाएको छ । यस्तो छात्रवृत्ति परिवारका दुईजनाले मात्रै पाउनेछन् । विगत ८ वर्षमा वैदेशिक रोजगारीका क्रममा ६ हजारभन्दा बढीको मृत्यु र ३ हजारभन्दा बढी अंगभंग भएको बोर्डको तंथ्याकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *