रोल्पामा २६ वर्षदेखि अरूलाई जिताउने भूमिकामै एमाले

को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो । तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मेदवार पाएको छ । एमाले फेरि पनि चुनाव जिताउने भूमिकामा मात्रै छ, एउटा पनि उम्मेदवार पाउन सकेको छैन । यो विषय वाम गठबन्धनलाई ‘भित्रैदेखि मिलाउन’ बाधक देखिएको छ ।

वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ उम्मेदवार पाएको छ । जिल्ला नै खाली गर्ने गरी भएको सहमतिप्रति एमालेका नेता कार्यकर्ता असन्तुष्ट छन् । एमाले जिल्ला कमिटीको १९ औं पूर्ण बैठकमा यसबारे ठूलो चर्काचर्की भयो । बैठकको मूल विषय नै यही बन्यो । बहुमत जिल्ला सदस्यले एमाले सधंै अरूलाई जिताउने भूमिकामा मात्रै रहेकोमा दुखेसो पोखे । कतिपयले चुनावी प्रचार अभियानमा हिँड्न नसकिने गुनासो समेत गरे ।

‘जिल्ला कमिटी बैठकमा उम्मेदवार नपाएको विषयले प्राथिमकता पायो । अधिकांश सदस्यले जिल्ला शून्य गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्,’ जिल्ला सदस्य ठाकुरप्रसाद ओलीले भने, ‘नेताहरूमा चुनावी उत्साह देखिएको छैन । वाम गठबन्धनले एमालेलाई घाटा लागेको छ ।’

हालसम्म एमालेले एक पटक पनि प्रत्यक्ष निर्वाचन जित्ने अवसर पाएको छैन । एक्लै चुनाव जित्न नसकिने र गठबन्धनका क्रममा कहिल्यै उम्मेदवार नपाउने समस्या एमालेमा छ । हालसम्म रोल्पा एमालेमा रीमा कुमारी नेपाली र गोकुल घर्ती मात्रै समानुपातिकबाट सभासद बन्न पाएका छन् । मन्त्रीसम्म बन्ने अवसर कसैले पाएको छैन ।

माओवादीबाट पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा विजयी पुष्पकमल दाहाल, जयपुरी घर्ती, कृष्णबहादुर महरा र ओनसरी घर्तीले राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाइसकेका छन् । दाहाल प्रधानमन्त्री, महरा र जयपुरी मन्त्री तथा ओनसरी मन्त्री र सभामुख भइसकेकी छन् । ललितपुरबाट चुनाव जितेका वर्षमान पुन पनि मन्त्री भइसकेका छन् । पूर्व लडाकु कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भइसकेका छन् ।

सशस्त्र द्वन्द्वकाल र शान्ति प्रक्रियापछिको समयमा माओवादी र एमालेको त्यति राम्रो सम्बन्ध छैन । शान्ति प्रक्रियापछि भएका संविधानसभा र स्थानीय तहका निर्वाचनमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच विभिन्न ठाउँमा झडप भए । दुवैतर्फका धेरै कार्यकर्ता घाइते भएका छन् । यही कारणले एमाले–माओवादी दूरी झनै बढेको थियो ।

स्थानीय निर्वाचनमा मात्रै रुन्टीगढी र त्रिवेणीमा पाँच ठाउँमा झडप भएको थियो । दुई दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए । अहिलेसम्म पनि त्यो तीक्तता मेटिएको छैन । एकातिर एउटा पनि उम्मेदवार नपाएको पीडा र अर्कातिर लामो समयदेखि बिग्रिएको सम्बन्ध सुधार्ने कुनै उपाय नगरिएकोमा नेता–कार्यकर्ताको गुनासो छ । स्थानीय तहमा सम्बन्ध सुधार नहुँदै उच्च तहका नेता चुनावी प्रचारमा हिँडेकोमा धेरैले दु:ख पोखिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा माओवादीले सात, एमालेले दुई र कांग्रेसले एक तह जितेको थियो । वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिको संयोजक एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीलाई बनाइएको छ । उनलाई पनि जिल्ला खाली नै होला भन्ने लागेको थिएन । ‘२०४८ देखि नै ‘हामी वाम एक ठाम’ भनेर लाग्यौं तर एमालेले केही पाएन । त्यसको असर अहिलेसम्म देखिएको छ,’ उनले भने, ‘रुकुममा एउटा स्थानीय तह पनि नजितेका कारण खाली हुनु एउटा कुरा हो तर यहाँ हामीले दुई तह जितेका कारण पनि पूरै खाली गर्नु हुँदैनथ्यो भन्ने गुनासो धेरै छ ।’

नेता–कार्यकर्ताका बीचमा रहेका असन्तुष्टि विस्तारै मेटिँदै गइरहेको घर्तीले बताए । ‘हिजो फरक पार्टी भएका कारण फरक व्यवहार हुँदै आएको थियो । अब पार्टी नै एउटै हुन थालेकाले असन्तुष्टिह कम हुँदै गएका छन्,’ उनले भने, ‘विगतका चुनावमा झडप गर्ने दुवैतर्फका कार्यकर्तालाई सँगै राखेर सौहाद्र्धपूर्ण वातावरण बनाउँदैछौं ।’ आपसी मतभेदलाई कम गर्दै चुनावी योजनाहरू अघि बढाइरहेको उनको दाबी छ । मंसिर १ सम्म खुला सभा र त्यसपछि वडा तथा टोल तहमा पुगेर घरदैलो गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा माओवादी नेता वर्षमान पुन केन्द्रीय तहका नेता मिलिसकेपछि स्थानीय तहका द्वन्द्व र मनमुटाव मिल्दै जाने बताउँछन् । ‘माथि मिलेपछि तल पनि मिल्दै जान्छ । हिजोसम्म लडिरहेका रोल्पाली अहिले मिलिरहेको देख्दा धेरै अचम्म परेका छन्,’ उनले भने, ‘हामी अरूले नपत्याएका कामहरू गरिरहेका छौं । रोल्पाली लड्न मात्रै होइन मिल्न पनि जानेका छन् भन्ने देखाउन सक्छौं ।’

२०४८ मा चुनावी तालमेल मात्रै भए पनि अहिले पार्टी एकताकै बाटोमा गएकाले एक पार्टीले उम्मेदवार नपाएको विषयमा त्यति धेरै गुनासो गर्न नहुने उनले बताए । चुनावको हारजित ठूलो कुरा नभएर उच्च राजनीतिक संस्कार बसाल्ने कुरा मुख्य भएको उनले बताए । ‘हिजो युद्ध लडे पनि अहिले हामी लोकतान्त्रिक संस्कार बसाल्न चाहन्छौं,’ उनले भने, ‘चुनावमा पनि आपसी राजनीतिक संस्कार कायम राखेर काम गर्नेछौं ।’

वाम गठबन्धनबाट प्रदेश सभा (क) र (ख) का लागि क्रमश: माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरू कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनमगर उम्मेदवार छन् । एमालेले पोलिटब्युरो सदस्य घर्तीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको थियो । प्रदेश सभा (क) मा पर्शुराम घर्तीमगर र (ख) बाट जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरलाई सिफारिस गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *