घुस सहित पक्राउ परेका राजश्व कार्यालयका कर्मचारी र असइ विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय कम्प्युटर शाखामा कार्यरत रामकिशोर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदनमाथि कारबाही गर्दा रु ५० हजार घुस माग्दा माग्दै आयोगको टोलीले केही समय पहिले उनलाई पक्राउ गरेको थियो । घूस प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।आयोगले आजै महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । भाटलाई एक सेवाग्राहीसँग रु पाँच लाख घूस मागेको अभियोग लागेको छ । अभियुक्त भाटले थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै घूस मागेको आयोगले जनाएको छ ।घूस माग्ने प्रकरणमा सोही वृत्तका प्रहरी नायब निरीक्षक नवीनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी बताउने विनोद थापासमेत संलग्न देखिएको अनुसन्धानबाट खुलेको छ । आयोगले सबै अभियुक्तलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *