एक अर्ब लागतको दक्षता तालिम परियोजना

आर्थिक सहयोगमा दक्षता परियोजना सञ्चालन हुने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ब्रिटिस काउन्सिले एक अर्ब रुपैयाँ बराबरको उक्त परियोजनाको घोषणा गरेको हो । अनुदान कार्यक्रमअन्तर्गत प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभिइटी ) परियोजनाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमको गुणस्तर अभिवृद्धि गर्ने कुराको सुनिश्चितता गर्ने लक्ष्य लिएको छ । नवीनतम सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने कार्यक्रम काठमाडौंका साथै क्षेत्रीयस्तरमा पोखरा, धनकुटा, लहान र नेपालगन्जमा पनि सञ्चालन हुने ब्रिटिस काउन्सिलले जनाएको छ । तालिम सञ्चालनका लागि निजी क्षेत्रका व्यावसायिक संघसंस्थाले प्रस्ताव पेस गर्न सक्ने अनुदान कोष प्रमुख टिम स्नेहा भट्टराईले जानकारी दिइन् ।

दुईवर्षे परियोजनाले कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिलाई दक्ष बनाउन तालिम प्रदान गर्ने दक्षता परियोजनाका टिम लिडर सिएन कर्लीले बताएका छन् । उक्त व्यावसायिक तालिम नेपालको समृद्ध भविष्यका लागि महŒवपूर्ण हुने पनि उनले विश्वास व्यक्त गरेका छन् । नेपालको आर्थिक विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिइभिटी) मा सुधार आवश्यक रहेको भन्दै उनले दक्ष मानव संसाधनको विकासमार्फत निजी क्षेत्रको उत्पादकत्व र कार्यक्षमतामा सुधार ल्याउन परियोजनाले एउटा आधारशिला तयार गर्ने बताए । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले औपचारिक ढाँचाहरू एवं सुधारिएको टिइभिटी नीति कार्यान्वयनमार्फत टिइभिटी मापदण्ड निर्धारणमा निजी क्षेत्रको सहभागितामा सुधार ल्याउनु जरुरी रहेको बताए । सरकारले टिइभिटीलाई थप व्यवस्थित गर्न राष्ट्रिय निर्देशिका प्रदान गर्ने उद्देश्यले टिइभिटी कोषको कार्यान्वयन र टिइभिटी नीति २०६९ को पुनरावलोकन गरिरहेको पनि उनले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) का उपनिर्देशक कुश्माखर भट्टले टिइभिटी नीतिको कार्यान्वयनमा मुख्य भूमिका खेल्ने बताउँदै इयू, ब्रिटिस काउन्सिल र निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको रोजगारदाता परिषद्का उपाध्यक्ष भरतराज आचार्यले परियोजनाले परिकल्पना गरेको पिपिपी मोडलले रोजगारी–योग्यता अभिवृद्धिका लागि महŒवपूर्ण भूमिका खेल्ने बताए । नेपालस्थित इयूको सहायता कार्यक्रम प्रमुख आन्द्रेयस रोएट्गरले दक्षतामार्फत परियोजनाले सिर्जना गर्न चाहेको नवीनतम पिपिपी मोडलले दिगो आर्थिक वृद्धि र सबैका लागि राम्रा रोजगारीका अवसरलाई प्रोत्साहन गर्न टिइभिटी क्षेत्रमा राम्रो सम्भावना बोकेको बताए । उनले भने– हामीले यस्ता अवधारणाका लागि आहृवान गर्दैछौं, जसले टिइभिटी क्षेत्रमा अनि देशकै समग्र विकासमा साँच्चिकै फरक महसुस गराउनेछ । ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर डा. योभान इलिकले इयूका तर्फबाट दक्षता परियोजना कार्यान्वयन गर्न र ब्रिटिस काउन्सिल विगत ५८ वर्षदेखि नेपालमा कार्यरत रहँदा मुख्य साझेदारका रूपमा रहेको शिक्षा मन्त्रालयसँग निकटमा रही काम गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले भने–सांस्कृतिक सम्बन्धहरूको यो एउटा उत्कृष्ट क्षण हो, जसमा इयूको योगदान, नेपाल सरकारको प्रतिबद्धता, सार्वजनिक र निजी क्षेत्रको सहकार्य र मध्यभागमा प्रेरणाको एउटा झिल्को समावेश छ । परियोजनाले हासिल गर्न सक्ने उपलब्धिबारे म अत्यन्तै उत्साहित छु । शिक्षा मन्त्रालयअन्तर्गतको सिटिइभिटीले कार्यान्वयनमा ल्याउने यस कार्यक्रमका प्रमुख सरोकारवाला निकायहरूमा शिक्षा मन्त्रालय, नेपालस्थित इयू प्रतिनिधिमण्डल, सिटिइभिटी, श्रम तथा रोजगार मन्त्रालय, कृषि विकास मन्त्रालय, पर्यटन मन्त्रालयसम्बन्धी अन्य सरकारी संस्था, निजी क्षेत्र, रोजगारदाता, तालिम प्रदायक, समुदायमा आधारित संस्था र सहकारी, युवा समूह र गैरसरकारी संस्थाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *