हरिसिद्धि इँटा तथा टायल कारखानामा छापा

आन्तरिक राजस्व कार्यालय हरिहरभवनले हरिसिद्धि इँटा तथा टायल कारखानामा छापा मारेको छ । कारखानाले अवैध रूपमा इँटा उत्पादन गरी राजस्व छली गरेको उजुरी परेपछि छापा मारेको हो । कार्यालयबाट गएको तीन जनाले टोलीले कारखानाको इँटा बिक्रीको खाता, लेखा विभागको कम्प्युटर कब्जामा लिएको छ ।आन्तरिक राजस्व कार्यालयका प्रमुख लालबाबु खत्रीले कब्जा गरिएको हरिसिद्धिको खातापाता अध्ययन गरिरहेको बताए । ‘कम्प्युटरमा पासवर्ड भएकाले खोल्न पाएका छैनौं,’ उनले भने, ‘हरिसिद्धिका सम्बन्धित व्यक्ति आज आउने कुरा थियो, आएनन् ।’ कारखानाले कार्यालयलाई २०५८/५९ देखिको आयकर र भ्याट पनि तिरेको छैन । कारखानाले आयकरतर्फ करिब ४ करोड र भ्याट २ करोड गरी ६ करोड रुपैयाँ तिर्न बाँकी छ । हरिसिद्धिले आव २०६०/६१ देखि हालसम्म वार्षिक साधारणसभाको प्रतिवेदन कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरेका छैनन् । २०७३ जेठमा हरिसिद्धि कम्पनीले एनबी मार्केटिङ, वाग्मती इन्भेस्टमेन्ट्स, रिलायवल इन्भेस्टमेन्ट्स, ल्होत्से इन्भेस्टमेन्ट्स र सर्वसाधारण सेयरधनीका तर्फबाट संस्थागत प्रतिनिधि भनी अध्यक्षमा राजेन्द्र राजभण्डारी, सदस्यहरूमा रोजकुमार श्रेष्ठ, दोर्जे गुरुङ, देवबहादुर श्रेष्ठ, वासुदेव पराजुली सदस्य रहने गरी सञ्चालक समिति गठन गरी प्रमाणितका लागि कम्पनी रजिस्ट्रार कार्यालयमा पठाएको थियो ।तर रजिस्ट्रार कार्यालयले साधारणसभा नगरेकाले कम्पनीको सञ्चालक प्रमाणित गर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो । त्यसपछि भण्डारीको अध्यक्षता रहेका सञ्चालकहरूले कारखानाको व्यवस्थापकमा दीपज्योति इन्टरप्राइजेजका सञ्चालक दीपराम महर्जनलाई छनोट गरेको थियो । सञ्चालकको लगतबिना खडा गरिएको कारखानाका अवैध व्यवस्थापनक दीपज्योति इन्टरप्राइजेजका सञ्चालक महर्जनले कारखानाबाट अवैध रूपमा २ नम्बर मेसिनबाट दैनिक १५/२० हजार इँटा उत्पादन गर्दै आइरहेको सेयरधनीहरूको आरोप छ । कारखानामा ३ वटा मेसिन छन् । सेयरधनीहरूका अनुसार सञ्चालकले सुरुका केही दिनमा दीपज्योति इन्टरप्राइजेजको नाममा बिल काटेको देखाइएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *