बालकृष्ण ढुंगेल जेल चलान

काठमाडौं । सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ढुंगेललाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । ढुंगेल अदालतको फैसलाको आठ वर्षपछि पक्राउ परेका हुन् । उनी प्रहरीको फरार सूचीमा थिए । उनलाई मंगलबारै डिल्लीबजारस्थित सदरखोर जेलमा राखिएको छ । काठमाडौं जिल्ला अदालतले फैसला कार्यान्वयनका लागि जेल चलान गरेको  हो । पटक–पटक आफ्नो पार्टी सरकारमा गए पनि मुद्दा फिर्ता लिने प्रयत्न सफल नभएपछि ढुंगेलले आत्मसमर्पणको मानसिकता बनाएका उनी निकटस्थ बताउँछन् । आत्मसमर्पण नगर्दै उनी समातिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई पहिला जेल बसेको अवधि कट्टा गरेर १२ वर्ष  ५ महिना जेल राख्न आदेश दिएको छ । यअघि उनी ओखलढुंगा जिल्ला अदालतको फैसलाअनुसार केही वर्ष जेल बसिसकेका छन् । सो अवधि कटाएर बाँकी १२ वर्ष ५ महिना उनी जेल बस्नुपर्नेछ । सर्वस्वसहितको कैद सजाय भएकाले उनले आफ्नो निजी आर्जन र अंश बापत प्राप्त चलअचल सम्पत्ति सरकारलाई बुझाउनुपर्नेछ ।सर्वोच्चबाट फैसला सुनाएयता ढुंगेल ‘फरार’ थिए । माओवादी केन्द्रले जनयुद्धकालीन मुद्दा भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो । माओवादी केन्द्रकै दबाबका कारण यसअघि प्रहरीले ढुंगेललाई पक्राउ गर्न सकेको थिएन । ढुंगेललाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । पछिल्लोपटक गएको चैतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेकी थिइन् । सो आदेश कार्यान्वयन नभएपछि एक साताअघि अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि मंगलबार प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो ।

यस्तो थियो ढुंगेलको दोष

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको सशस्त्र द्वन्द्वको समयमा २०५५ साल असार १० गते  हत्या भएको थियो । सो हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट  ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव जितेका ढुंगेल पदमै बहाल रहँदा जन्मकैदको सजाय सुनाइएको थियो । त्यसअघि २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । २०६३ सालमा सो फैसला पुनरावेदन अदालत राजविराजले उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको थियो । यो फैसलापछि उनी जेलमुक्त भएका थिए । सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेपछि उनी फरार थिए । कानुन व्यवसायी, मानवअधिकारवादी र उज्जनकुमार श्रेष्ठको परिवारले ढुंगेललाई पक्राउ गर्न निरन्तर दबाब दिँदै आएका थिए ।

मुद्दा फिर्ताको प्रयास असफल

ढुंगेललाई सर्वस्वसहित जम्मकैदको सजाय सुनाइएपछि पटक पटक मुद्दा फिर्ताको प्रयास भए पनि सफल हुन सकेन । २०६५ सालमा  माओवादी पहिलोपटक सरकारमा गएपछि तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले मुद्दा फिर्ता लिने प्रयत्न गरेका थिए । त्यसपछि युद्धकालीनको घटनाको रूपमा व्याख्या गर्दै झलनाथ खनाल नेतृत्वको सरकारले पनि मुद्दा फिर्ता लिने तयारी गरेको थियो तर चर्को विरोध भएपछि मुद्दा फिर्ता हुन सकेन । फेरि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुंगेलमाथिको मुद्दा द्वन्द्वकालीन भन्दै आममाफीका लागि तत्कालीन राष्ट्रपति डा रामवरण यादवसमक्ष सिफारिस गरेको थियो । सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने ठहर गरी फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *