८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

२०७४-महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।
प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरिएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो । तिनै चालकहरूले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशस्त्र प्रहरीको शंकास्पद भूमिकामाथि छानबिन सुरु गरेको थियो । प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो । त्यसैले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो ।लामो समयसम्म पत्रको जवाफ नदिएपछि परिसरले नामावली माग्दै सोही व्यहोराको दोस्रो पत्र पनि काट्यो । प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीको मुख्यालयसम्मै यो विषयमा कुरा पुगेपछि र बारम्बारको फोन ताकेतापछि केरुङ नाकामा उक्त दिन खटिएका सशस्त्र प्रहरीको नामावली परिसरले पाएको थियो । पत्र पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार सशस्त्र प्रहरीका एक असईसहित चार जवानलाई काठमाडौं बोलाएर सोधपुछ गरेको थियो । केरुङ नाकामा खटिएको सशस्त्र प्रहरी युनिटको नेतृत्व सम्हालिरहेका डीएसपी प्रकाश वाग्लेले काठमाडौं प्रहरी परिसरले पत्र पठाएपछि आफूहरूले ड्युटीमा खटिएकाहरूको नामावली पठाएको पुष्टि गरे । वाग्लेले भने, ‘केही कुरा बुझ्नुपर्ने भन्ने अनुरोध आएपछि हामीले नाम पठाइदिएका हौं ।’ वाग्लेले सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नताबारे भने टिप्पणी गर्न चाहेनन् ।सुन लिन भनेर भदौ १५ मा काठमाडौंबाट केरुङ पुगेका चिनियाँ नागरिक पान वई मिङले सशस्त्र प्रहरीसँग ड्राइभर खोजिदिन आग्रह गरेका थिए । स्रोतका अनुसार सशस्त्र प्रहरीका जवान पण्डितले पानका निम्ति चालक खोजिदिएका थिए । बारम्बार केरुङ नाका हुँदै चीन–नेपाल ओहोरदोहोर गर्ने हुनाले पान धेरैका लागि परिचित अनुहार थिए । त्यही चिनाजानीको फाइदा उठाउँदै पानले सशस्त्र प्रहरीको सहयोग लिएका थिए । बा१७च ६४२७ नम्बरको गाडीका निम्ति ड्युटीमा खटिएका पण्डितले गाडी चलाउन रसुवा घर भएका गाडी चालक दम्बा सान्डु तामाङलाई खोजिदिएका थिए । त्यही गाडी लिएर पानले सोही दिन साढे दुई बजे केरुङ नाका छिचोलेका थिए ।स्रोतका अनुसार काठमाडौंको ठमेलमा काठमाडौं वान होटल चलाएर बसेका पानले सशस्त्र प्रहरीसँग निकटको सम्बन्ध बनाएका थिए र त्यसैका आधारमा उनी सजिलै सुन नेपाल भित्र्याउँथे । सुन तस्करीको केही दिनअघि मात्रै पानले रात्रि ड्युटीमा खटिने सशस्त्र प्रहरीका जवानका लागि कम्मलसमेत किनिदिएका थिए । एक उच्च प्रहरी अधिकारीले भने, ‘सशस्त्र प्रहरीको सहयोगमा पानले बारम्बार सजिलै सुन भित्र्याएको देखिन्छ ।’ प्रहरी स्रोतका अनुसार पानको अस्वाभाविक गतिविधिमा सजिलै आँखा चिम्लिएकाले सशस्त्र प्रहरीको भूमिका थप शंकास्पद देखिएको हो ।

लक फोनमा अड्किएको अनुसन्धान

८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेको अभियोगमा महानगरीय अपराध महाशाखाले ३० असोजमा मानबहादुर तामाङलाई काठमाडौंबाट पक्राउ गर्‍यो । प्रहरीले नेपाली कांग्रेसको रसुवा १ बाट प्रदेशसभामा समानुपातिक उम्मेदवार सिफारिस भएका र नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई संगठित अपराध ऐनअन्तर्गत म्याद लिएर थुनामा राखेको छ । अनौठो त के छ भने पक्राउ परेको दुई साता बितिसक्दा पनि अनुसन्धानमा खटिएको प्रहरीले तामाङबाट सुन तस्करीबारे धेरै कुरा फुत्काउन सकेको छैन । त्यसको एउटै कारण हो, उनले बोकेको आइफोनको लक नखुल्नु ।सुनका मालिक भनिएका चिनियाँ नागरिक पानसँग तामाङको बारम्बारको फोन सम्पर्कका आधारमा प्रहरीले सुन तस्करीमा उनको सक्रिय भूमिका पहिल्याएको थियो । प्रहरी अनुसन्धानले चीनबाट पठाइएको सुन तामाङकै व्यवस्थापनमा काठमाडौं र भारतीय बजारसम्म पुर्‍याउने चाँजो मिलाइने गरेको निष्कर्ष निकालेको थियो । तामाङले बोक्ने आइफोनमा सुन तस्करीसँग सम्बन्धित सूचनाहरू मिल्ने आसमा बसेको प्रहरी त्यतिखेर अप्ठ्यारोमा पर्‍यो, जतिबेला तामाङले आइफोनको पासकोड खोल्न नमिल्ने भएको बताए । तामाङले आफू चीन जाँदा आइफोनमा देखिएको चिनियाँ अक्षर नचिनेकै कारण जता पायो त्यतै थिचेको र आइफोन लक भएको बताउँदै आएका छन् । प्रहरी परिसर काठमाडौंले उक्त आइफोनको लक खोल्न काठमाडौंका केही मोबाइल पसलमा पनि पुर्‍याएको थियो । त्यहाँबाट पनि सम्भव नभएपछि परिसरले आइफोन अपराध महाशाखाको डिजिटल टिममा पठाएको छ ।स्रोतका अनुसार सुन तस्करीको सूचना आदानप्रदान गर्न तामाङले विच्याटमार्फत कुराकानी गर्थे । प्रहरीले उनको मोबाइलमा सुन तस्करीबारे सूचना हुने र त्यसका आधारमा नयाँ तथ्य पत्ता लाग्ने आशा गरेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘बाठा तामाङले सूचना चुहिने डरले आइफोनको लक बिर्सेको नाटक गरिरहेका छन् ।’ काठमाडौंको ठहिटीमा ट्राभल्स एन्ड टुर्स व्यवसाय चलाएका मानबहादुरका १० वटा स्कार्पियो गाडी छन् । स्रोतका अनुसार एक चिनियाँ व्यापारीसँगको साझेदारीमा उनले उक्त व्यवसाय सुरु गरेका हुन् । ल्हासा, सिगात्से र केरुङसम्म पुग्नका लागि उनको टुर्सले गाडी उपलब्ध गराउँछ ।२७ वैशाखमा काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै चीन जान आँटेको स्कार्पियो गाडीबाट बरामद चार करोड ७५ लाख रुपैयाँ अवैध विदेशी मुद्रासहित पाँच चिनियाँ नागरिक पक्राउको घटनामा पनि तामाङ जोडिएका थिए । स्रोत भन्छ, ‘त्यतिका धेरै रकम चीन लैजान तामाङकै गाडी प्रयोग गरिएको थियो । महानगरीय अपराध महाशाखाले ४ असोजमा नै तीन चालकका अलावा तस्करीको सुन किनबेचमा संलग्न भएको अभियोगमा काठमाडौंबाट पाँच सुन व्यवसायीलाई पक्राउ गरिसकेको छ । काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बाँगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलेलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका पाँचै व्यवसायीले तस्करीको सुन किन्ने र खार्ने काममा संलग्न थिए । पक्राउ परेकामध्ये कार्यविनायक सुनचाँदी पसलका सञ्चालक बडु भने जडीबुटीका कारोबारीसमेत हुन् । बडुले बहुमूल्य मानिने यार्सागुम्बु तिब्बती व्यापारीलाई बेच्ने र त्यसबापतको रकम सुनबाट बुझ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार सुनका असली मालिक भनिएका चिनियाँ दम्पती पान वई मिङ र यान बेङ विङ भागेर चीन पुगिसके.

Leave a Reply

Your email address will not be published. Required fields are marked *